एनआईसी एशिया बैंककाे कर्जामा अधिकतम प्रिमियमदर ३ प्रतिशत कायम

आइतबार, मंसिर १७, २०८०

काठमाडाैँ– एनआईसी एशिया बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर तीन प्रतिशत कायम गरेको छ ।

यस सहुलियतपश्चात् यसभन्दा अगाडि तीन प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकमहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको कम्पनीले बताएको छ । जसअनुसार कम्पनीको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा तीन प्रतिशत प्रिमियम थप गरि कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ ।

कम्पनीले ल्याएको यो नयाँप्रिमियम दरफोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाहभएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसायकर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको छ ।

आर्थिक गतिविधि संकुचन भइरहेको यससमयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने उद्देश्यले कम्पनीले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई ग्राहकहरुलाई कर्जा भुक्तानीमा सहजहुने पनि कम्पनीले बताएको छ ।

कम्पनीले मुलुकभर ३६० शाखाकार्यालयहरू, ६५६ एटीएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक बृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई बुझाएको पनि कम्पनीले बताएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  २०:१३
प्रतिक्रिया दिनुहोस्