जाजरकोट भूकम्प

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन सरकारसँग कांग्रेसको माग 

बुधबार, मंसिर १३, २०८०

काठमाडौँ– नेपाली कांग्रेसले जाजरकोट भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकमुष्ट रुपमा दिन सरकारसंग माग गरेको छ । 

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै पटकमा दिन सरकारसंग माग गरेको हो ।

बैठकमा भूकम्प प्रभावितको अवस्थाका बारेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री प्रकाशशरण महतले जानकारी गराएका थिए । बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्थायी आवास निर्माणका लागि दिने भनिएको रकम अझै पनि पीडितसमक्ष पुग्न नसकेको पाइएकाले एकमुष्ट रुपमा सवै रकम दिन माग गरिएको बताए । चिसो मौसममा अस्थायी आवास निर्माणका लागि किस्ताबन्दीमा दिने कुराहरुमा सहमति हुन नसक्ने उनले बताए ।

त्यस्तै, बैठकमा देशमा भइरहेको गणतन्त्रविरोधी प्रदर्शनहरूबारे पनि बैठकमा छलफल भएको र कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले सधै संविधानको पक्षमा रहेको विश्वकर्माले बताए । उनले संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माणको बिषयमा पनि छलफल भएको जानकारी दिए ।

त्यस्तै, बैठकपछि अर्थमन्त्री एवम् कांग्रेसका नेता डा प्रकाशशरण महतले मन्त्री हेरफेरको बारेमा प्रधानमन्त्रीबाट पनि केहि कुरा नआएकाले त्यसको कुनै सम्भावना नरहेको बताए । उनले विभिन्न बहानामा अहिलेको व्यवस्थामाथि प्रहार गर्ने र यसलाई कमजोर पार्ने प्रयास भएपनि देखिएका समस्याहरु समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

बैठकमा महासमितिको बैठकको तयारीबारे छलफल भएको नेताहरुले जनाएका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्