सुकुम्बासी समस्या

केहि दिनभित्रै सुकुम्बासी समस्या हल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

सोमबार, मंसिर ११, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिनभित्रै सुकुम्बासी समस्या हल गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बेवसाइट सार्वजनिक गर्दै उनले केहि दिनभित्रै सुकुम्बासी समस्या हल गर्नेगरी सरकारले पुराना ऐनहरू संशोधन गर्ने निर्णय गरिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सुकुम्बासी स्वबासी, अव्यवस्थित बसोबासी र उनीहरूको समस्या हल गर्न ऐन नै संशोधन गर्ने बताए ।

उनले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको बताए । 

त्यस्तै, उनले वन ऐनको पनि संशोधन गर्ने निर्णय भएको जानकारी दिदै यसले एक प्रकारको क्रान्ति ल्याउने दावी गरे । माओवादीका अध्यक्ष समेत रहनुभएका प्रचण्डले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गरे । सरकारले गरेको राम्रो कामको प्रचार गर्न आग्रह समेत गर्नुभयो । अरुले बरु धेरै राम्रो भयो भने बधाई दिदा राम्रो कुरालाई राम्रो भन्न माओवादीकै संगठन तयार नभएको उनले गुनासो गरे ।

कार्यक्रममा सञ्चार  तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिलाई सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अगाडि लैजाने बताइन् । सामाजिक सद्भाव खल्बलिने अवस्था आएकाले सरकारले सामाजिक सञ्जाल निर्देशिका जारी गरेर कार्यान्वयन गरिएको उनले बताइन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्