दुर्गा प्रसाईँलाई नजरबन्दमा राखिएको छैन : गृहमन्त्रीको सचिवालय

शुक्रबार, मंसिर ८, २०८०

काठमाडौं- राजावादी दुर्गा प्रसाईँलाई नजरबन्दमा नराखिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

राजधानीको तीनकुनेमा प्रदर्शनको तयारीमा रहेका प्रसाईँलाई भक्तपुरस्थित घरमै नजरबन्दमा राखिएको समाचारहरू प्रकाशित भइरहेको बेला गृहमन्त्रीको सचिवालयले खण्डन गरेको हो ।

गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले प्रसाईँलाई नजरबन्दमा राखिएको भन्दै प्रकाशित समाचार र हल्लाहरू झुट र काल्पनिक रहेको बताएका छन् ।

उनले भनेका छन्– ‘दुर्गा प्रसाईँ गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पूर्णत झुट र काल्पनिक हल्ला मात्रै हो ।’

सल्लाहकार गिरीले मंसिर ७ गतेका भएको प्रसाईँको प्रदर्शनका क्रममा रबरको गोली प्रयोग भएको भन्ने विषयमा पनि सत्यता नरहेको बताएका छन् । उनले भनेका छन्, ‘हिजोको प्रदर्शनमा द्विपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस् र निजी एवम् सार्वजनिक सम्पत्तिको नोक्सानी हुन नपाओस् भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको तथा केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्याँस र पानीको फोहोरा मात्रै प्रयोग गरिएको, प्रचार गरिए जस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको सबैमा अवगत नै छ ।’

प्रसाईँको समूहले काठमाडौंमा निरन्तर सरकारविरुद्ध प्रदर्शन गरेको योजना बनाएको छ । सोही अनुसार आज तीनकुनेमा प्रदर्शन गर्न लागेको थियो । तर, आफूलाई ‘होम एरेष्ट’ गरिएको भन्दै प्रसाईँले बिहानै निवासमै पत्रकार सम्मेलन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्