राजसंस्थाको चर्चापछि ...

राजसंस्थाको चर्चापछि प्रचण्ड–बाबुराम एउटै पार्टीको छातामुनि, दशकपछि जोडियो दुई लाइन

मंगलबार, मंसिर ५, २०८०

काठमाडौं माओवादी युद्धका दुई लाइन पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई फेरि पार्टी एकताको निधोमा पुगेका छन्।

माओवादी छाडेर नयाँ शक्ति, जनता समाजवादी हुँदै नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निधोमा पुगेका छन्। भट्टराईको संयोजकत्वमा एकता समिति गठन हुनेछ।

माओवादी केन्द्रसँग एकतापछि पार्टीको नाम नेकपा समाजवादी राख्न प्रस्ताव गरिनेछ। माओवादीका तर्फबाट प्रचण्ड नै एकता समितिको संयोजक हुनुपर्ने समाजवादी पार्टीको प्रस्ताव रहेको छ।

प्रचण्डले टुटफुटमा रहेका माओवादी शक्तिको एकीकरण गर्ने प्रस्ताव गरेका थिए। अब, दुवैको वार्ता समितिले सहमति गरेपछि एकता घोषणा हुनेछ।

माओवादी जनयुद्धकालमा दुवै जनाको नेतृत्वमा पार्टी सञ्चालन भएको थियो। छायाँमा रहेका प्रचण्डले संगठनको नेतृत्व सम्हालेका थिए भने भट्टराईले त्यसको सेकेन्ड कमान्ड गरेका थिए।

माओवादीमा रहँदा भट्टराई सफ्ट लाइनरका रुपमा परिचित थिए।

संक्रमणकालिन राजनीतिक स्थितिमा राजसंस्थाको मागसहित राजावादीको शक्ति बलियो हुन थालेपछि फुटेर रहेका माओवादीलाई एकै घेरामा ल्याउन प्रचण्डले प्रयत्न सुरु गरेका थिए।

०७२ सालमा संवैधानिक समितिको सभापति रहेका भट्टराई संविधान जारी भएपछि माओवादीमा रहनुको औचित्य सकिएको र अब आर्थिक विकासका लागि अगाडि बढ्ने भन्दै नयाँ शक्ति नेपाल गठन गरी फरक बाटोमा लागेका थिए।

नयाँ शक्तिले अपेक्षित सफलता हात पार्न नसकेपछि उनले उक्त पार्टीलाई मधेसी जनाधिकार फोरममा बिलय गराउँदै पछि एकतासहित जनता समाजवादी पार्टीमा रुपान्तरण गराएका थिए।

तर त्यसका अध्यक्ष उपेन्द्र यादवसँगको मतभेदका कारण पार्टी विभाजन गरी नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई फेरि प्रचण्डसँगै जोडिन लागेका हुन्।

प्रचण्डलाई गोरखाको आफ्नो निर्वाचन क्षेत्र छाडेपछि भट्टराईले सम्बन्ध नजिक बनाउँदै गएका थिए तर, समाजवादी मोर्चा गठनका क्रममा फेरि चिसिएको थियो।

शान्ति प्रक्रियासहित पहिलो संविधान सभाको निर्वाचनपछि माओवादी विभिन्न नेताका साथ टुक्राटुक्रा भएको थियो। पार्टीका सैद्धान्तिक लाइन निर्माणकर्ता मानिने मोहन वैद्य किरणसहितका नेताले पार्टी विभाजन गरेका थिए।

किरणको पार्टी पनि विभाजन भई नेत्रविक्रम चन्दको नेकपा बनेको थियो। चन्द अहिले माओवादीसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीको मोर्चामा आवद्ध छन्।

विप्लवलाई पनि पार्टी एकीकरणमार्फत मूलधारमा नै ल्याउने प्रयास भइरहेको उच्च स्रोतले जनाएको छ। यसो हुँदा विभाजित रहेको माओवादी एकीककरणको प्रक्रिया हुने र शक्ति बलियो बन्न सक्ने प्रचण्डको विश्लेषण रहेको छ।

प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई पनि पार्टी एकीकरणमा ल्याउने प्रस्ताव गरेका छन्। तर, त्यस दलका अध्यक्ष माधवकुमार नेपालले तत्काल एकीकरण नहुने बताइसकेका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्