चिसोले थप एक भूकम्पपीडितको मृत्यु

सोमबार, मंसिर ४, २०८०

जाजरकोट -अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ ।

भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको आज बिहान मृत्यु भएको हो । उनी हाल त्रिपासको साहरामा बस्दै आएका थिइन्। आज बिहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए ।

यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका-१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको ज्यान गएको थियो । चिसोका कारण पछिल्लो एक सातामा सात जना वृद्ध वृद्धाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्