भूकम्प प्रभावित क्षेत्रमा एमालेले पठायो ११ सय स्वयमसेवक

आइतबार, मंसिर ३, २०८०

काठमाडौं- नेकपा एमालेले भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक टोली खटाएको छ । क्षेत्र जाजरकोट र रुकुम पश्चिम प्रस्थान गरेको छ ।

गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश घर भत्किएपछि त्रिपालमा बसोबास गर्दै आएका भूकम्प पिडितको पुन: स्थापना र पुननिर्माणमा सहयोग गर्न आज (आइतबार) एमालको ११ सय जना स्वयमसेवक त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीमा २५ जना रहने गरी ४० अलग–अलग टोली निर्माण गरिने एमालेले जनाएको छ । ४० टोलीले भूकम्प प्रभावित क्षेत्रका अलग अलग स्थान छनोट गरी पीडितहरूको पुनः स्थापना र घर टहरा पुनर्निर्माण सहयोग गर्नेछ । टोलीले दुई साता काम गर्नेछ । पुनः स्थापना र पुनर्निर्माण नसकिए आवश्यकता अनुसार समय बढाएर सहयोग गर्ने एमालेले जनाएको छ ।

पार्टी केन्द्रीय सदस्य किरण पौडेलको संयोजक रहेको सो टोलीलाई शनिवार नै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्माण सामग्री हस्तान्तरण गरेर बिदाइ गरेका थिए । भूकम्पले १२ जिल्लामा २६ हजार ५२८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

३५ हजार ३९५ घरमा आंशिक क्षति भएको छ । यो तथ्याङ्क जिल्ला प्रशासन र पालिकाले उद्धार तथा आपत्कालीन राहतपछि सङ्कलन पछिको हो । कात्तिक १७ गते मध्यराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १५४ जनाको मृत्यु भएको थियो ।

भूकम्पबाट घरबार बिहिन हुन पुगेका पीडितहरू त्रिपालमा रात बिताउनु पर्ने बाध्यताका कारण जाजरकोटमा चिसोबाट १० जना भूकम्प पीडितको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्