Nic Ad Nic Ad
Nic Ad Nic Ad
मंसिर ७ अर्थात् राष्ट्रिय युवा संघ भर्सेस महाअभियान

ओलीको अघोषित उर्दी र प्रसाईंको आह्वानबीच के गर्दैछ सरकार?

आइतबार, मंसिर ३, २०८०

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय युवा संघ र राजा, राष्ट्रियता र नागरिक महाअभियानको नाममा हुन गइरहेको कार्यक्रमका आफ्ना एजेन्डा भए पनि यो भिडन्तको संघारमा पुग्ने लगभग निश्चित छ।

युवा संघको कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् भने महाअभियानको नेतृत्व विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईँले गर्दैछन्।

तर दुवै पक्षले कार्यक्रम गर्नेबारे अहिलेसम्म प्रशासनमा स्थानको अनुमति नमागेको खुलेको छ। विदा सकिएलगत्तै सोमबार प्रशासनमा उनीहरूले अनुमति मागे मात्र सरकारले के गर्ने भन्ने निर्णय लिनेछ।

काठमाडौंमा हुने कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ। जिल्ला सुरक्षा संयन्त्रको बैठक राखी यसबारे निर्णय लिन सकिने जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ।

तर त्यसअघि नै दुवै पक्षका आक्रामक अभिव्यक्तिले स्थिति तनावतिर जान सक्ने पूर्वानुमान राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले गरेका छन् । सोही सूचना गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म पनि पुगिसकेको छ।

पत्रकार सम्मेलन गरेरै ओलीले ७ गतेका लागि एमालेका कार्यकर्ता, युवा दस्ताका सदस्यलगायतलाई काठमाडौंमा उत्रिनका लागि अघोािषत उर्दी जारी गरेपछि अब स्थिति कस्तो हुन्छ भन्ने आँकलन गर्न कठिन छ। ‘भिडन्तको स्थिति हुन्छ कि, त्यसलाई नियन्त्रणमा लिन कस्तो कदम उठाउने भन्ने प्रशासन, गृह मन्त्रालय र सरकारको हातमा छ’, उच्च स्रोतले भन्यो,‘स्थितिलाई नजरअन्दाज गर्न मिल्दैन।’

कतिपयले भने व्यवस्था खराब भएको स्थितिमा प्रसाईंको अभियान अझ आक्रामक हुने र यसैलाई संस्थागत गर्नुपर्ने पक्षमा रहेको एमालेको उपस्थिति पनि बलियो हुने बताइन्छ।

व्यवस्थालाई अझ सुदृढ राख्नका लागि तत्कालका लागि सरकारको भूमिकाको खोजी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका दलहरुको बैठक राखी छलफल चलाए पनि सरकारले कस्तो निर्णय र कदम उठाउनेछ भन्नेबारेचाहिँ निश्चित निर्णय सुनाइसकेका छैनन्।

बालुवाटारनिकट स्रोतले भन्यो,‘व्यवस्थाविरोधी कुरा गर्न पाइने भए पनि हिंसातिर लम्किन नदिनका लागि सरकार सचेत छ। भिडन्तको स्थिति आउने सम्भावना देखे सरकारले त्यसलाई नियन्त्रणमा लिनेछ, कुनै कसर बाँकी राखिनेछैन।’

प्रसाईंको महाअभियानले देशैभरीबाट तीन लाख भन्दा बढी मानिस काठमाडौं उतार्ने घोषणा गरिसकेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्