विपीनको उद्धार गर्न अमेरिकादेखि कतारका विदेशमन्त्रीसित आग्रह गरिएको छ : परराष्ट्रमन्त्री

शनिबार, मंसिर २, २०८०

महेन्द्रनगर (कञ्चनपुर)- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुर भीमदत्त नगरपालिकाका विपीन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन् ।

शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए ।

“जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ”, मन्त्री साउदले भने, “सुरक्षामा गम्भीर रुपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ ।” साथै कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको छ ।

बन्धक रहेका जोशीलाई छुटाउन आज बिहान मात्रै कतारका राजदूतसित छलफल भएको पनि मन्त्री साउनले जानकारी दिए ।

मन्त्री साउदले भने, “हमासको आक्रमणबाट सुदूरपश्चिमले बढी क्षति ब्यहोरेको अवस्था छ ।” कूटनीतिक पहल गरेर छुटाउने प्रक्रियामा सरकार रहेको बताउँदै उनले विश्वस्त रहन सबैलाई आग्रहसमेत गरे । मन्त्री साउदले शनिबार बिहान जोशीका बुबा÷आमा र दाजुसित भेटसमेत गरेका थिए ।

विपिन ४३ दिन देखि हमास समुहको कब्जामा बन्धक छन् । उनी असोज २० देखि हमासको नियन्त्रणमा रहेको बताइएको छ । सरकारको पहल गम्भिरतापूर्वक नपुगिरहेको भनी आलोचना भईरहँदा परराष्टमन्त्री साउदले अमेरिका देखि कतारसम्मका विदेशमन्त्री, अन्तराष्टिय रेडक्रस लगायतका संघ सस्थालाई पनि रिहाईको पहलका लागि आग्रह गरिएको जानकारी दिँदैं सरकार गम्भिर रहेको बताएका हुन् ।

फरक प्रसङ्गमा मन्त्री साउदले विकासमा राजनीतिक गर्न नहुने बताए । “सबैको उद्देश्य जनताको विकासकै लागि राजनीति हो”, उनले भने, “विकासमा राजनीतिक दल, वल्लोपल्लो नभनी सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ ।”

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लामो समयदेखि मुआब्जाको पर्खाइमा रहेका पीडितको समस्या समाधान हुनेगरी सरकारले अन्तिम अधिकारसम्पन्न अर्धन्यायिक आयोग गठन गर्ने तयारीमा रहेको बताए । “अबको एक हप्ताभित्र एकजना पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन हुँदैछ”, उनले भने, वास्तविक पीडितलाई सकभर जग्गा नै नभए मुआब्जा रकम उपलब्ध गराउने गरी अन्तिम आयोग बन्दैछ ।”

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्