अष्ट्रेलियाले भूकम्पपीडितलाई ५ करोड प्रदान गर्ने

शुक्रबार, मंसिर १, २०८०

काठमाडौँ - अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरूका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।

उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस)संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुन:र्निर्माण सहयोग गर्नेछ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भने, “पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एक अर्कालाई सहयोग गरेको इतिहास छ ।”

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०६:३३
प्रतिक्रिया दिनुहोस्