ज्ञानेन्द्र–लिङ्देन भेट

प्रचण्डको आशंकाबीच झापाबाट राजा ज्ञानेन्द्रले देखाउँदैछन् जनलहर, तयारीमा जुट्यो राप्रपा

आइतबार, कात्तिक २६, २०८०

काठमाडौंअहिलेको व्यवस्था उल्टिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आशंका गरेको समयमा नै राजा ज्ञानेन्द्रको उपस्थितिमा जनलहर देखाउने तयारी भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ज्ञानेन्द्रसित भेट गरी कार्यक्रमको तयारीबारे जानकारी गराएका छन्। आगामी महिनामा ९ गते झापाबाट पृथ्वीनारायण शाहको शालिक अनावरणसँगै जनलहर देखाउने तयारी भएको छ।

हरेक हिउँदमा ज्ञानेन्द्र परिवारसहित झापा गए पनि यसपटकको भ्रमण भने विशेष रहने बताइएको छ। उनले आम साधारणसँगको साक्षात्कारदेखि विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछन्।

बेलामौका देशको अवस्थाबारे कडा टिप्पणी गरिरहेका ज्ञानेन्द्रका लागि अहिलेको राजनीतिक दुराग्रहबीच चलेका विभिन्न अभियानले कार्यक्रममा जनमत बलियो बनाउने अनुकूलता मिलेको छ।

लिङ्देन अमेरिकामा १२ दिनभन्दा बढी बसेर आएपछि यो कार्यक्रम तय हुनुलाई संयोग मात्र मानिएको छैन। धेरै तयारीसहितका खेलहरु भइसकेका छन्। अहिले चलिरहेको अभियान र धार्मिक गुरुलगायत हिन्दूवादी पनि सडकमा देखिनुलाई आश्चर्य मान्ने गल्ती गर्न हुन्न, ज्ञानेन्द्रसम्बन्ध उच्च स्रोतले भन्यो,‘बेथिति र भ्रष्टाचारसहितको यो व्यवस्था निक्कै नै आलोचित भइसकेको छ।

एकातिर दुर्गा प्रसाईँसहितले महाअभियानका नाममा हिन्दूवादी गुरुहरूलगायतको उपस्थितिमा ठूलो संख्यामा राजसंस्था समर्थकको भेला गरिरहेका छन्, अर्कातिर राप्रपा संस्थागत रुपमा नै पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा अर्को जनलहर देखाउन जुट्नु भनेको अर्थपूर्ण हो।

यस विषयको संकेत प्रधानमन्त्री प्रचण्डले पाएका कारणले नै कांग्रेस, एमालेलगायतका दलसँग बैठक राखी व्यवस्था सुदृढ बनाउने र लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि एकमत हुने सहमति गरिएको थियो।

तर, सोही बैठकमा पनि संविधानमा हिन्दूत्वको विषयलाई नजरअन्दाज गरिएको भनी कांग्रेस सभापति शेरबहादुर देउवाले टिप्पणी गरेपछि प्रचण्ड थप झस्किएका थिए।

अहिले पनि सरकार अपदस्त हुने, व्यवस्थामा खतरा रहेको टिप्पणी गरिरहेका प्रचण्डले किर्तिपुरमा भनेका थिए,‘सरकार जान सक्छ तर अभियानमा पछि परिँदैन, २०६४ सालको जस्तो जनमत बनाउनका लागि हामी तयार हुनुपर्छ।

तर विस्तारै राजा ज्ञानेन्द्रको समर्थन र हिन्दूत्वको विषयले सडक, सदन र संविधानमा नै स्थान पाउनुपर्ने आवाज र प्रदर्शनका कारण व्यवस्था परिवर्तन गरेका दलहरू अत्तालिएका देखिन्छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्