टेन्ट छैन, शीत चुहिने त्रिपालको भरमा भूकम्पपीडित

आइतबार, कात्तिक २६, २०८०

जाजरकोट - रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्छिन्। त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठुलो पानीको आहाल छ। मौसमी चिसो बढ्दै छ । भूकम्पबाट त भागेर जोगियौँ तर चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले उनलाई सताइरहेको छ ।

स्थानीय पाँच जना र सडक बनाउन बसेका छ जना गरेर ११ जनाको ज्यान छेपारेमा भूकम्पले लियो। उनले भनिन्, “बच्चा छ, त्रिपालबाट रातभर पानी चुहिन्छ, भुइँबाट पनि पानी रसाइरहेको छ, खोकी लाग्न थालिसक्यो।” हिउँद सुरु हुन लाग्दा चिसो स्याँठ चल्न थालेको छ । त्यसलाई त्रिपालले नधान्ने स्थानीय बताउँ छन्।

दुई जना वृद्ध भूकम्प प्रभावितको चिसोले मृत्यु नै भयो । उनीहरू दीर्घरोगी भएकाले पनि चिसो सहन नसकेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय खलङ्गाले जनाएको छ ।

छेपारे र चिउरीमा नागरिक आवाज नामक संस्थाले गाउँमा खानाको मेस चलाइदिएको छ। सबै गाउँले बिहान बेलुकाको खाना त्यहीँ खान्छन् । नखाने आफैँ बाहिर पकाउँछन् । सडक छेउका सबै घर छेपारेका खण्डहर बनेका छन् । भत्केको घर हेर्दै त्रिपालमा बसिरहेका स्थानीयले चिसोले सताउन थालेपछि विचलित बन्न थालेका हुन् ।

समयमै राम्रो राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका हुन्। कात्तिक १७ गते ६.५ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्केपछि भूकम्प प्रभावितहरू खुला आकाशमुनि बसिरहेका छन् । तत्काल दिइएको राहतका त्रिपाल र फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए।  तर त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका छन् ।

बलबालिका, सुत्केरी र वृद्धवृद्धा चिसो सहन नसकी बिरामी परेका छन् । सबैभन्दा धेरै मानवीय क्षति भएको नलगाड–१, चिउरीका सन्तोष कुमाई त्रिपालको भरमा केटाकेटी र बुढाबुढी जोगाउन गाह्रो परेको बताउँछन् ।

रिम्नाकी मनीषा चलाउनेको घर भत्केपछि पाँच जना छोरीसहित त्रिपालमुनि बसेकी छन्। उनले खुला आकाशमुनि सुतिरहेकी छोरी देखाउँदै भनिन, “यी दुई बिरामी भएर सुतिरहेका छन्, चार पाँच दिन त जसोतसो कटायौँ तर अब चिसो सहन नसकेर बिरामी हुन थाले ।”

दुई जना पनि मुस्किलले अट्ने त्रिपालमा पाँच जना बस्न गाह्रो भएको उनी बताउछिन । भारतमा काम गर्न गएका श्रीमान् फर्केर नआउँदा उहाँलाई बिरामी छोरीको उपचारमा समस्या पर्न थालेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्