प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङबीच भेटवार्ता

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङ जुङजेङबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।

बिहीबार बिहान प्रधानमन्त्री भेट्न जुङजेङ आफ्नो भ्रम्ण दलका प्रतिनिधिसँगै  प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरु बीच झण्डै पौने घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पाँच दिनका लागि आएका वाङको भ्रमण गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति अघि बढाउनेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

“दुई देशबीचको सम्बन्धलाई विश्वास र सहकार्य बढ्ने गरी अघि बढाउने र प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा भएका सहमतिलाई कार्यान्वयनमा लैजानेबारे उहाँहरुका बीचको भेटमा छलफल केन्द्रीत भएको थियो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

प्रधानमन्त्रीको भ्रमणमा भएका सहमति कार्यान्वयनको पाटो हेर्न यसअघि चीनले बेइजिङकै अधिकारीहरू खटाउने गरेकोमा यो पटक तिब्बत हेर्ने पार्टी सचिवलाई पठाएकोले पनि चीनले नेपाललाई प्राथमिकताको सूचीमा राखेको बताईएको छ ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितका नेताहरुसँगसँग भेट गर्ने कार्यतालिका लिएर नेपाल आएका वाङले काठमाडौं आइपुगे लगत्तै उपराष्ट्रपति रामसहाय यादवसँग बुधवारै भेट गरेका छन्। जुङजेङ टोली प्रधानमन्त्रीसँगको भेटपछि चिनियाँ राजदूतावास फर्केको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्