भूकम्पबाट ३९८ विद्यालय क्षतिग्रस्त

बिहीबार, कात्तिक २३, २०८०

जाजरकाेट- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १४ ज्यामिरकोट टाकुरामा रहेको जनविकास माविमा अध्ययनरत तीन विद्यार्थीले भूकम्पमा ज्यान गुमाए । कक्षा आठ र कक्षा पाँचमा अध्ययनरत एक छात्र र दुई छात्रा गुमाएको जनविकास माविको भवन पनि भूकम्पमा जोगिएन ।

विद्यालयका दुई कच्ची भवन कामै नलाग्ने गरी पूर्ण रूपमा ध्वस्त भएका छन् । एउटा पाँचकोठे र अर्को तीनकोठे भवन पूर्ण रूपमा ध्वस्त भएको प्रधानाध्यापक दीपकसंगम थापाले जानकारी दिए । भूकम्पका कारण विद्यालय खण्डहर बनेको उनले बताए । तीन सय ५० विद्यार्थी रहेको विद्यालय दसैँपछि तिहारसम्मका लागि बिदा नै छ । ३ मंसिरदेखि खोल्ने शैक्षिक तालिका रहे पनि भूकम्पले क्षतिग्रस्त बनेपछि तोकिएको समयमा खोल्ने अवस्था नरहेको प्रधानाध्यापक थापाले बताए ।

‘पक्की भवन त खासै केही भएका छैनन्, करिब डेढ सय विद्यार्थीलाई बस्ने ठाउँको अभाव छ,’ उनले भने, ‘आधाजसो विद्यार्थीलाई राख्ने ठाउँ व्यवस्था नगरी तत्काल विद्यालय खोल्न सक्ने अवस्था छैन ।’ सरकार र दाताको सहयोग प्राप्त भए विद्यालयलाई थप व्यवस्थित गरेर चलाउन सकिने उनको भनाइ छ ।

सानीभेरी गाउँपालिका– १० अर्माडाँडाको सरस्वती माविको पनि दुई–दुई कोठाका दुई भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । तीन सय ९५ विद्यार्थी अध्ययनरत रहेको विद्यालय तिहारपछि खोल्ने क्यालेन्डर भए पनि तत्काल सञ्चालनमा ल्याउन समस्या छ ।

सामुदायिक र संस्थागत गरी चार सय ४४ विद्यालय रहेको जाजरकोटमा अधिकांश विद्यालयका भौतिक संरचना ध्वस्त भएका छन् । हालसम्मको विवरणअनुसार तीन सय २८ विद्यालयका एक सय ७३ भवन ध्वस्त भएको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका सूचना अधिकारी प्राविधिक सहायक तिलक भट्टराईले जानकारी दिए । उनका अनुसार पाँच सय १६ कक्षाकोठा ध्वस्त भएका छन् । त्यस्तै, एक सय ३९ शौचालय, ४३ घेराबार, पाँच विज्ञान प्रयोगशाला र दुई आइसिटी ल्याबमा पूर्ण क्षति पुगेको छ ।

त्यस्तै, जिल्लाभर चार सय आठ विद्यालय भवनका एक हजार एक सय ४६ कक्षाकोठा, एक सय ९० शौचालय, ६१ घेराबार, नौ विज्ञान प्रयोगशाला, ११ पुस्तकालय र १५ आइसिटी ल्याबमा आंशिक क्षति पुगेको छ । यी भौतिक संरचनामा क्षति पुग्दा झन्डै ४० हजार विद्यार्थी प्रत्यक्ष प्रभावित हुने भट्टराईले बताए । जिल्लाभर ७१ हजार सात सय ६८ विद्यार्थी रहेको उनले बताए ।

उता रुकुम पश्चिममा ५३ विद्यालयमा पूर्ण तथा १७ मा आंशिक क्षति भएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका अनुसार आठबिसकोट नगरपालिकामा मात्रै ४३ विद्यालयमा क्षति पुगेको छ । ३३ विद्यालयमा पूर्ण र नौवटामा आंशिक क्षति भएको इकाइ प्रमुख ताराप्रकाश पुनले बताए।

त्यस्तै, सानीभेरी गाउँपालिकामा १२ मा पूर्ण र सातमा आंशिक क्षति भएको गाउँ शिक्षा शाखा प्रमुख भूपालसिंह विष्टले बताए । त्यसबाहेक त्रिवेणी गाउँपालिकामा तीन विद्यालयमा पूर्ण, चौरजहारी नगरपालिकामा दुई विद्यालयमा पूर्ण, बाँफिकोट गाउँपालिकामा दुई विद्यालयमा पूर्ण तथा मुसिकोट नगरपालिकामा एकमा पूर्ण र एकमा आंशिक क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । आंशिक क्षति पुगेका विद्यालयमा पनि विद्यार्थीलाई भित्र राखेर पढाउन सकिने अवस्था नरहेको इकाइ प्रमुख पुनले बताए।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्