इजरायल–हमास युद्ध

गाजामा इजरायली आक्रमणबाट ९ हजार बढी प्यालेस्टिनीको मृत्यु

बिहीबार, कात्तिक १६, २०८०

गाजा– इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । 

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्या ३२ हजार नाघेको जानकारी दिए ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उनले बताए ।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टन भन्दा बढी वा प्रति वर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौं रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । 

यसको जवाफमा इजरायली सेनाले गाजा पट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्