इजरायल–हमास युद्ध

इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार बढी  

सोमबार, कात्तिक १३, २०८०

गाजा– गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या आठ हजार ३०६ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

मृत्यु हुनेमा तीन हजार ४५७ बालबालिका र दुई हजार १३६ महिला रहेको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायली हवाई आक्रमणमा परी २१ हजार ४८ प्यालेस्टिनी घाइते भएका छन् बताइएको छ । गाजा पट्टीमा इजरायलको बमबारीका कारण २५ वटा अस्पतालसेवा स्थगन गर्न बाध्य भएको र २५ वटा एम्बुलेन्सलाई निशाना बनाइएको मन्त्रालयले जनाएको छ । अल–कद्राले घाइते प्यालेस्टिनीलाई बचाउन पर्याप्त रगत नभएको बताउँदै गाजावासीलाई अस्पतालमा गएर रक्तदान गर्न आग्रह गरेका छन् ।

गत अक्टोबर ७ मा हमासले इजरायली सेनाले सुरक्षा दिँदै आएको क्षेत्र र शहरहरूमा गरेको आक्रमणपछि इजरायली आक्रमण सुरु भएको थियो । 

अहिलेसम्म इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भइसकेको छ । इजरायली रक्षा बलका अनुसार हमासको आक्रमणका क्रममा कूल २३९ जनालाई बन्धक बनाइएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्