राष्ट्रसङ्घ महासचिवको भ्रमण तयारी पूरा, सुरक्षा जिम्मा सेनालाई

शनिबार, कात्तिक ११, २०८०

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निमन्त्रणामा उनी चारदिने भ्रमणमा आज राति नेपाल आउँदै छन् ।  

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।  नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन् ।

उनले काठमाडौँ उपत्यकाका पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्