गठबन्धन सरकार ढाल्ने प्रयास सम्भव नहुने : अध्यक्ष नेपाल

आइतबार, असोज २८, २०८०

कर्णाली– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन् ।

वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताए । उनले भने, “कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।” 

पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको स्पष्ट गर्दै नेता नेपालले जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउने बताए । 

पूर्वप्रधानमन्त्री नेपालले विभिन्न कालखण्डमा आफूले नेकपा एमाले निर्माणमा योगदान गरेको बताए । 

जागरण अभियानमा नेकपा (एस)का महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालालगायत नेताले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्