कोशी प्रदेश

मध्यावधि निर्वाचन रोक्न सरकार निर्माण : नवनियुक्त मुख्यमन्त्री कार्की

शनिबार, असोज २७, २०८०

मोरङ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताएका छन् ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशसभा सदस्यहरूको सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताए । 

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मकरूपमा लिने विश्वास व्यक्त गरे । उनले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त अधिकारअनुसार जनताको हितका लागि काम गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले शपथग्रहणपछि मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । नेता थापाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार  निर्माणमा विकसित भएको घटनाक्रमका कारण नैतिकरूपमा दलका नेताका रूपमा बस्न उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिए । 

नेता थापाले प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिँदै आगामी दिनमा पार्टीको निरन्तर साथ रहने बताए । प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले गठबन्धनलाई कुनै असर नपुग्ने र प्रदेशमा गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उनको भनाइ थियो ।

यसअघि आजै बसेको प्रदेश कांग्रेसको संसदीय दलको बैठक बसेको थियो । बैठकमा २९ जना प्रदेशसभा सदस्यमध्ये १९ जना उपस्थित थिए ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्