कोशीमा कार्की गठबन्धनकै मुख्यमन्त्री हुन्, विश्वासको मत दिन्छौं : प्रधानमन्त्री प्रचण्ड

शनिबार, असोज २७, २०८०

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् ।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका सांसद कार्कीलाई वर्तमान केन्द्रिय सत्ता गठबन्धनले पनि विश्वासको मत दिने दाबी गरेका हुन्। चितवनमा सञ्चारकर्मीसँग बोल्दै उनले भने, ’शेरबहादुर र शेखरसँग कुराकानी गर्छौं, गठबन्धन टुट्दैन । कोसीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउँछौं ।’

उनले कोशीमा गठबन्धन कै सरकार हुने र सर्वपक्षीय सरकारको सम्भावना नभएको दाबी गरे। उनले रिफ्रेसका लागि आफू चितवन आएको बताए ।

कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थन लिएर बहुमत पुर्‍याउँदै शनिबार बिहान कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो ।

एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस पनि गरे । तर, सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिएका थिए । स–शरिर सांसद उपस्थित भएर सनाखत गरेपछि आज कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आङ्बोलाई समर्थन गर्ने सांसद सनाखत गर्न गएनन्।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्