कोशी मुख्यमन्त्री कार्कीले क्यानडानेपालसँग भने– विश्वासको मत लिने सल्लाह गर्दैछु, राप्रपाको समर्थन

शनिबार, असोज २७, २०८०

काठमाडौं– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले केही दिनमा नै विश्वासको मत लिने भएका छन्।

उनले क्यानडानेपालसँग भने,‘विश्वासको मत लिने विषयमा समर्थक सबै सांसद र साथीहरुसँग सल्लाह गर्दैछु। चाँडै लिन्छु।’

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि कार्कीलाई विश्वासको मत दिने तयारी गरेको छ। उक्त पार्टीका प्रवक्ता मोहन श्रेष्ठले निर्णय नभएका कारण अहिले केही बताउन नसकिने तर यस विषयमा आवश्यक निर्णयका लागि बैठक बसिने बताएका छन्।

राप्रपा कोशीको मुख्यमन्त्री नियुक्तिका विषयमा तटस्थ बस्ने निर्णय गरेको थियो।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए। हिजो दुवै आकांक्षीको पक्षामा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन्। सनाखतमा बहुमत पुष्टी भएसँगै अब प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्ने छन्।

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्