धार्मिक, सामाजिक, सांस्कृतिक सहअस्तित्व र सद्भाव राख्न गगन थापाको अपिल

बुधबार, असोज १७, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम गर्न अपिल गरेका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै थापाले सद्भाव कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन्।

‘हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान्, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो-मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सद्भाव तथा सहअस्तित्व, विश्व शान्तिका प्रतीक भगवान् गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट हामीले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएका छौँ र यो गौरवमय पहिचान र परम्परालाई हामीले कायम राख्नुपर्छ,’ थापाले भनेका छन्।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्