नेप्से परिसूचक ५ अङ्कले घट्यो

सोमबार, असोज ८, २०८०

काठमाडौँ - साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले गिरावट आएको छ।

आइतबार १९.४२ अङ्क गिरावट आएको नेप्से परिसूचक सोमबार  ५.८९ अङ्कले घटेर २००४.४५ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९४ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अङ्क र सेन्सेटिभ इण्डेक्स ०.७३ अङ्कले घटेको छ।

सोमबार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। आइतबार २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ। जसमा जलविद्युत् र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। त्यस्तै,लगानी उपसमूहको परिसूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहहरुको परिसूचक ०.९५ प्रतिशतभन्दा कमले गिरावट आएको छ।

सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर यता शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमबार सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्