नेभिगेशन
सुरक्षा–अपराध

ज्यान जाला प्रहरीले छाड्दैनः प्रेमिकाको हत्या गरी दुबई भागेका प्रेमी नेपाल छिर्नासाथ पक्राउ

काठमाडौं१२ असोज २०७४ मा धादिङको धुनीवेशी नगरपालिका९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका५ की ३२ वर्षीया ललिताकुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो।

प्रहरी यो घटनाको सूक्ष्म अध्ययन र अनुसन्धानमा सक्रिय थियो। तर, ६ बर्ष बितेपछि घटना सामसुम भयो होला भनेर फर्किएका एक व्यक्तिलाई ललिताकुमारीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ।

उनको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका८ काचनका ३५ वर्षीय अरूणकुमार मिजारलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरी अनुसन्धान थालेको छ।

ललिता र अरूणबीच प्रेम सम्बन्ध रहेको त्यतिबेलैको अनुसन्धानबाट खुलेको थियो। अरुणकुमार कहिले नेपाल आउँछन् भन्ने पर्खाईमा प्रहरी थियो।

प्रेम सम्बन्धमा रहँदा ललिताकुमारी गर्भवती भएपछि उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले खुलाएको छ। अनुसन्धानका क्रममा ललिताकुमारीको मोबाइलमा भेटिएको कतिपय तथ्यले सहयोग गरेको थियो। उनले बारम्बार अरुणकुमारलाई गर्भवती भएको र बिहे गर्नका लागि आग्रह गरेको तथ्य फेला परेको छ।

ललिता स्टाफ नर्सको अध्ययन सक्काएर बसेकी थिइन्। उनी कामको खोजीमा थिइन्। त्यतिबेला अरूणकुमारले कुनै अस्पतालमा काम लगाइदिने भन्दै काठमाडौं बोलाए। २१ भदौ ०७४ मा बिराटनगरबाट काठमाडौं आएकी ललिताकुमारीको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर अरूण फरार भएका थिए। अरुणकुमारले हत्या स्वीकार गरेका छन्।

शव सडेगलेको रहेका कारण हत्या कसरी भयो भन्ने अनुसन्धानका लागि प्रहरीलाई तीन महिना लागेको थियो। हत्याराको संकेत नभेटाएका कारण ३१ असोज २०७४ मा अरुणकुमार दुबई भाग्न सफल भएका थिए।

२१ पुस २०७४ मा गते ललिताकुमारीका परिवारले उनीविरूद्ध किटानी जाहेरी दिएपछि प्रहरी अनुसन्धान मोडिएको थियो। उनी दुबई, मलेसियालगायत विभिन्न देशमा लुकिछिपी बस्दै आएकोमा केही समयअघि नेपाल फर्किएको भन्ने सूचना प्राप्त भएपछि बाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा उनलाई सप्तरीस्थित घरबाटै पक्राउ गरिएको हो। म्याद थपेर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध