पाकिस्तानको पूर्वी पञ्जाबमा रेल ठोक्किँदा २९ जना घाइते

आइतबार, असोज ७, २०८०

इस्लामावाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार बिहान यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा २९ जना घाइते भएको सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले जनाएको छ ।

प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्यालयका सिफ्ट इन्चार्ज मोहम्मद अतीकले सिन्ह्वालाई बताएअनुसार प्रान्तको शेखपुरा जिल्लामा रेल कर्मचारीको सम्भावित लापरबाहीका कारण स्थानीय समयअनुसार बिहान ४ः३० बजे उक्त घटना भएको हो ।

“रेलका कर्मचारीले यात्रुवाहक रेललाई रोक्न सङ्केत गर्ने स्वीच थिच्नबाट चुकेको र त्यस बखत मालबाहक रेल पहिले नै पार्क गरिएको स्थानमा ठक्कर दिन पुगेको थियो,” अतीकले भने । 

यात्रुबाहक रेल कम गतिमा चलिरहेकोले दुर्घटनाका कारण ठूलो क्षति नभएको बताइएको छ । दुर्घटनामा अधिकांश मानिसहरू सामान्य घाइते भएका छन् । 

“घाइतेमध्ये २७ जनालाई घटनास्थलमै प्राथमिक उपचार गरिएको छ भने दुई जना गम्भीर घाइतेलाई अस्पताल लगिएको छ,” उनले भने । 

पाकिस्तानी रेल सेवा स्रोतहरूका अनुसार सुरक्षा टोलीले घटनास्थलमा दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ । यदि यो रेल सेवा कर्मचारीहरूको लापरवाही पुष्टि भएमा उनीहरूविद्ध कडा कारबाही गरिनेछ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्