शिक्षा विधेयक: शिक्षक–सरकार वार्ता

आन्दोलनरत शिक्षक र सरकारबीचकाे वार्ता विना निश्कर्ष टुंगियो

बिहीबार, असोज ४, २०८०

काठमाडौँ– आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा जारी वार्ता विना निश्कर्ष टुंगिएको छ ।

आज राति बसेको बैठकको छलफललाई भोलि (शुक्रबार) जारी राख्ने सहमतिका साथ बैठक विना निश्कर्ष टुंगिएको हो ।

वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागी थिए । 

त्यस्तै, शिक्षकको तर्फबाट शिक्षक महासङ्घका पदाधिकारीहरू रहेका छन् । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् ।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ । शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्