कित्ताकाट खुलेपछि घरजग्गा कारोबार बढ्यो

बुधबार, असोज ३, २०८०

काठमाडौं - भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ।

नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो ।

नेपाल राष्ट्र बैंकले असोजदेखि नै लागू हुनेगरी २ करोडसम्म घर निर्माण कर्जा दिने र ब्याजदर पनि स्थिर हुने जनाएपछि अब उप्रान्त भने घरजग्गा कारोबार चम्किने लक्षण झनै बढेको छ । बैंकहरूले घरजग्गा कर्जामा कडाइ गरेपछि निर्माण व्यापारसमेत शिथिल रहेकामा अब भने घर निर्माण बढ्न गई समग्र अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न थालिएको छ ।

भू–उपयोग नियमावली गत ३० साउनमा मन्त्रिपरिषद्ले पारित गरेसँगै कित्ताकाट नहुने समस्यामा कमी आएको, अंशबन्डा गर्दा न्यूनतम् यति जग्गा हुनैपर्छ भन्ने समस्या नभएको र मोही बाँडफाँटको पनि कित्ताकाट नरोकिएको हुँदा कित्ताकाट बढेर सरकारले राजस्वसमेत बढाएको छ ।

गत वर्षको २३ मंसिरदेखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेपछि रोकिएको घरजग्गा कारोबार गत भदौबाट चलायमान हुन थालेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्