Nic Ad Nic Ad
Nic Ad Nic Ad

साफ यू-१९ च्याम्पियनसिपको तयारी पूरा

मंगलबार, असोज २, २०८०

काठमाडौं - साफ यू–१९ च्याम्पियनसिप–२०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो ।

दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डरअनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका लागि सहभागी राष्ट्रहरू आउनेक्रम जारी रहेको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । उनका अनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोली आज मंगलबार आइपुग्ने तालिका रहेको छ । यस्तै, पाकिस्तानको टोली पनि आजै आइपुग्ने जनाइएको छ ।

सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ ।

यस्तै, प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस प्रतियोगिताका लागि दुईथरी टिकटको व्यवस्था गरिएको छ । जसमा साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ । टिकट खल्तीको एपबाट वा रंगशालामा भौतिकरूपमा पनि किन्न पाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्