प्रचण्डकाे सचिवालय

प्रधानमन्त्री प्रचण्डका प्रमुख स्वकीय सचिव दराईः सचिवालयमा ‘लौरो न हतियार’

मंगलबार, भदौ २६, २०८०

काठमाडौंप्रधानमन्त्री नियुक्त भएपछि ८ माघ २०७९ मा पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा ७ जना नियुक्त गरेका थिए। त्यसमा प्रमुख स्वकीय सचिवमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सन्तु दराईसहित अन्य ६ जना थिए।

स्वकीय सचिवमा रमेश मल्ल, छोरी गंगा दाहाल स्वकीय सहसचिवमा सूर्यकिरण शर्मा, मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल नियुक्ति गरिएका थिए।

उनले पछि सचिवालय अझ बृहत त बनाए तर प्राथमिकता र केन्द्रविन्दुमा छोरीलाई मात्र राखेको पाइन्छ।

खासगरी प्रचण्डको सचिवालयमा दिइएको जिम्मेवारीभन्दा बढी गंगा हावी भएको देखिन्छ। यसमा प्रचण्डले आँखा चिम्लिएर मौन समर्थन मात्र गरेका छैनन्, कुटनीतिक रुपमा नै प्रश्न उठ्ने प्रकारका गतिविधि समेत गरेका थिए।

प्रधानमन्त्री कार्यालय, बालुवाटार भित्र मात्र होइन, कतिपय विदेश भ्रमणमा पनि दराईलाई बाईपास गरिँदै आएको छ। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा स्वकीय सचिव छोरी गंगा दाहाललाई नै लिएर गएका थिए। यति मात्र होइन, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको बैठकमा चिफ अफ प्रोटोकलको ठाउँमा गंगालाई राख्दा प्रचण्डको आलोचना भएको थियो।

उक्त विषयलाई प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा नै उठाएका थिए।

अहिले सानो आकारको प्रतिनिधि मण्डल लिएर अमेरिकामा हुने राष्ट्र संघीय महासभामा जान लागेका प्रधानमन्त्री प्रचण्डले गंगालाई नै प्राथमिकता दिएका छन्। दराईले यहाँ पनि स्थान पाएका छैनन्। खास राजनीतिक भेट र बैठकहरूमा पनि गंगाको उपस्थिति प्राथमिकमा राखेका प्रचण्डले यसबारे उत्तर दिन सकेका छैनन्।

प्रधानमन्त्री प्रचण्डले अमेरिका जाने टोली १० जनामा सीमित गराएका छन्। तर, त्यति सानो टिममा छोरीलाई भने अटाएरै छाडेका छन्।

अन्य भन्दा पनि परिवारको सदस्यको बढी विश्वास भएर होला प्रमुख स्वकीय सचिव भन्दा बढी महत्व दिइएको, बालुवाटारनिकट स्रोतले भन्यो,‘फेरि प्रधानमन्त्रीको तालिका बनाउनेले पनि सोही हिसाबले नै काम गर्दा त्यस्तो देखिएको हुन सक्छ।

तर दराई त छोरी गंगा भन्दा पनि विश्वासिला पात्रका रुपमा मानिनुपर्ने पात्र हुन्। १० बर्षे जनयुद्धका क्रममा दराई ब्रिगेड कमान्डरका रुपमा जनमुक्ति सेनालाई होल्ड गर्ने नेता हुन्। सचिवालयको पद जागिर तर फाजिलमा बसेको जस्तो बनेको देखिन्छ। युद्ध गराएर प्रचण्डको राजनीति बनाउने व्यक्तिले किन महत्व पाइरहेको छैन?, माओवादीका कतिपय नेता प्रश्न गर्छन्,‘यो त अति नै भयो।

त्यसो त माओवादीको केन्द्रीय समितिको बैठकमा प्रचण्ड परिवारवादमा लिप्त भएको भन्ने आरोप पनि लागेको थियो। ओम शर्मालगायतका कतिपय सदस्यले यस्तो प्रश्न उठाएपछि ठूलै बहस भएको थियो।

अहिले सोही शैलीले निरन्तरता पाउँदा सचिवालयमा दराईको उपस्थिति लौरो न हतियारको जस्तो देखिएन र? यसअघिका प्रमुख स्वकीय सचिव जोगबहादुर महराको हालत पनि यस्तै यस्तै नै थियो।   

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्