कम्युनिष्टबीच एकता गर्नुपर्छ : प्रचण्ड

आइतबार, भदौ २४, २०८०

काठमाडौँ - प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अब सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने बताएका छन् ।

आइतबार हेटौँडामा समाजवादी मोर्चाले गरेको प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सबै कम्युनिष्ट एक भएर समाजवाद निर्माण गर्नुपर्ने बताएका हुन् ।

गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सबै कम्युनिष्ट बीचको एकतामा उनले जोड दिए ।

‘हामी सबै कम्युनिष्टले पटक-पटक फुट्दा कति समस्या हुन्छ भन्ने बुझिसक्यौँ । अब एक-अर्कालाई तिरस्कार, बहिष्कार नभई सत्कार गरेर कम्युनिष्ट एकता गर्नुपर्छ’, ‘प्रचण्डको भनाइ थियो ।

फुट्दा र जुट्दाको दुवै अनुभवलाई लिएर अब नयाँ क्रान्ति सुरु गर्नुपर्ने उनले बताए । सरकारले अहिले सुशासनको लागि भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने अभियान सुरु गरेको बताउँदै उनले आफ्नो अभियानबाट केही प्रतिगामी तर्सिएको बताए।

‘प्रधानमन्त्रीले राम्रो काम गर्न खोज्दा अदालतमा मुद्दा हाल्ने काम भयो । यस्ता खाले समस्या समाधान गर्न सरकार डटेर लाग्छ’, प्रधानमन्त्रीले भने ।

आफ्नो चीन र अमेरिकाको भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवाद दिशामा अघि बढेको दाबी गरे ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्