नेभिगेशन
खेलकुद

देशभर निर्माण हुँदैछन् क्रिकेट मैदान, कहाँ कति प्रगति भयो ?

काठमाडौँ - नेपालले एशिया कप खेलसँगै भौतिक पूर्वाधार र खेलाडीको सेवा सुविधाको विषय फेरि चर्चामा छ । प्रतियोगितामा नेपालले एकदिवसीय विश्‍व वरियताको पहिले स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानको भारतसँग प्रतिस्पर्धा गरेको थियो । 

यी दुबै देशमा क्रिकेटका लागि पर्याप्त स्तरीय मैदानहरू छन् । त्यस्तै खेलाडीको सेवा सुविधामा समेत सरकारले कुनै कसर छाडेको छैन । तर, नेपालमा अहिलेसम्म त्रिभुवन विश्व‍विद्यालयको मैदानबाहेक अर्को अन्तर्राष्ट्रिय मैदान तयार भइसकेको छैन । जबकी राम्रा खेलाडी उत्पादनका लागि स्तरीय मैदान अनिवार्य शर्त हो । 

सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । 

काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । उक्र रङ्गशालाको भिआइपी प्यारापिट ब्लक ढलान भई प्लास्टरको काम भइरहेको छ ।

त्यस्तै भैरहवा क्रिकेट रङ्गशालामा ‘ब्लक बी’ आयोजनाको २२ दशमलव पाँच प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको ‘ब्लक एच’ र कास्कीको पोखरा क्रिकेट रङ्गशालाको एउटा ब्लक निर्माणकार्य सुरु भएको मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जानकारी दिइयो ।

त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट रङ्गशाला निर्माणका लागि मैदान तयार गर्ने कार्य भएको छ भने सुर्खेत क्रिकेट खेलमैदानको काम चालु छ । काठमाडौँको बूढानीलकण्ठ क्रिकेट रङ्गशालाको मैदानको कार्य सुरु गरिएको छ भने गण्डकी प्रदेशको पोखरा रङ्गशाला निर्माण आयोजना सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशमा कैलालीको धनगढी रङ्गशालाको ४६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ । नेपालगन्ज रङ्गशालामा भने सेन्थेटिक ट्रयाक निर्माणका लागि डे«न ढलानकार्य भइरहेको छ । उक्त आयोजनाको ७७ प्रतिशत निर्माणकार्य पूरा भएको छ ।

बाराको सिमरा रङ्गशालाको ४१ प्रतिशत, नारायणी रङ्गशालाको २० प्रतिशत, पाँचथरको फिदिम रङ्गशालाको १५ दशमलव ८५ प्रतिशत तथा सुनसरीको धरान रङ्गशालाको ५४ प्रतिशत निर्माणकार्य पूरा भएको छ । पोखरा रङ्गशालामा बोरिङ निर्माणकार्य सुरु गरिएको छ भने ललितपुरमा च्ययासल रङ्गशाला निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

नारायणी कभर्डहलको निर्माणको ३० प्रतिशत, चुनिखेल कभर्डहलको २० प्रतिशत र रामेछापको सुनापति राष्ट्रिय स्मृति कभर्डहलको २० प्रतिशत निर्माणकार्य पूरा भएको छ । हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि मनाङको तिमाङमा खेलमैदान सम्याउने, घेराबार गर्ने र पर्खाल लगाउने काम भइरहेको छ भने जुुम्लामा मैदान सम्याउने काम पूरा भएको छ ।

काठमाडौँको कागेश्वरी मनोहरामा खेलाडी आवासगृह र ललितपुरको सातदोबाटोमा तेक्वान्दो खेलाडीका लागि आवासगृह निर्माण गर्न डिपिआर तयार भएको मन्त्रालयको समीक्षा प्रतिवेदनमा उल्लेख छ । 

निर्माण सम्पन्न भएका पूर्वाधारको नियमित सम्भारका लागि बजेट व्यवस्थापन र  केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न खेलमैदानका लागि रकम विनियोजन गर्ने कार्यलाई पनि सरकारले नियमित गरेको छ । 

सरकारले आगामी २०८१ सालमा कर्णली प्रदेशको सुर्खेतमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि बजेटको आवश्यक जोहो गरिरहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वमा रही निर्णायक भूमिका खेल्ने पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा सञ्चालनमा रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रङ्गशालाका रूपमा विकास गर्न राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने सोच मन्त्रालयले अघि सारेको छ ।

मन्त्रालयले खेलकुद पूर्वाधार निर्माणकार्यको लक्षित प्रगति समयमै हासिल गर्न केही ठूला पूर्वाधार निर्माणकार्य प्राविधिक जनशक्ति भएको उपयुक्त सरकारी निकायमार्फत गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ । 

मुलुकलाई विश्वजगत्मा परिचित गराउने, राष्ट्रको इज्जत र प्रतिष्ठा बढाउने तथा कूटनीतिक सम्बन्ध विस्तारमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान हुँदै आएको छ ।

सरकारले तीन तहकै सरकारको समन्वय र सहकार्यमा  खेलकुद पूर्वाधारको निर्माण, संरक्षण र स्तरोन्नति गर्ने नीति अघि सारेको छ । खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र गतिविधि सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने मन्त्रालयको प्रतिबद्धता छ । 

प्रतिभावान् खेलाडी पहिचान, क्षमता विकास तथा प्रोत्साहन गर्ने तथा समाजमा खेलकुदको महत्व स्थापित गर्दै सबैलाई खेलकुदमा सहभागी हुने अवसर सिर्जना गर्ने सरकारले अठोट लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

रोकिएको आइपिएल शनिबारदेखि हुने