मल आयातको समस्या समाधान गर्न पहल गरेको छु : कृषिमन्त्री भुसाल

आइतबार, भदौ १७, २०८०

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको बताएका छन् ।

मन्त्रीको पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद प्रक्रिया छोट्याउन सार्वजनिक खरिद ऐन र नियमावलीमा संशोधन प्रस्ताव गरिएको बताए । उनले मलकारखाना अध्ययन गर्न लगानी बोर्ड मार्फत दुई कम्पनीलाई अनुमति दिइएको उनले बताए । 

उनले बाँझो जमिन उपभोग कार्यक्रम, कृषि बिकास उद्यमशिलता कार्यक्रम, हरित विद्यालय र पोषण शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको धारणा राखे । कृषिमा दिइने अनुदानलाई उत्पादनमा आधारित बनाउन उत्पादन साथमा नगद हातमा भन्ने नीति अवलम्वन गरिएको उनले जानकारी दिए । मन्त्री भुसालले लम्पी स्किन रोगको उपचार प्रभावकारी रुपमा गरिएकाले रोगको संक्रमण कम हुदै गएको र स्वदेशमा नै यस रोगको खोप उत्पादन गर्नका लागि छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया अघि बढाइएको बताए ।

उनले मुलुकलाई चाहिने भन्दा १२ लाख ८० हजार मेट्रिक टन उत्पादन भइरहेको र अहिलको चैते धानको उत्पादनलाई दोव्वर बनाए करिव ७ लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताए । त्यस्तै बिभिन्न देशहरुसंग कृषि क्षेत्रमा सहयोग र सम्भावनाबारे छलफल गरिएको उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्