ललिता निवासका आरोपीलाई उन्मुक्ति दिने प्रपन्च गरियो : पदम गिरी

मंगलबार, भदौ १२, २०८०

काठमाडौं - नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवासका आरोपीलाई उन्मुक्ती दिने प्रपन्च सरकारले गरिरहेको आरोप लगाएका छन् ।

‘ललित निवासमा ठूला भ्रस्टाचारीका नाइकेलाई अदालतले छानविन गर भन्दा गर्दैन । संगठित अपराधमा म्याद थप गरेर ६० दिन थुनामा राखियो । अहिले संगठित अपराध थिएन, किर्ते थियो भनेर मुद्दा दर्ता गरिएको छ । यदी संगठित अपराध थिएन भने ६० दिन किन र कसरी राखियो ?’

संसद्मा बोल्दै उनले भने,‘ लेनदेन होइन भने सरकारले स्पष्ट जवाफ दिनुपर्छ । सिआईबीलाई यसरी दुरुपयोग गर्न पाइदैंन । गिरी बन्धु टी स्टेट, टिकापुर जग्गा, वाइड बडी, ओम्नी, यति सबैमा सरकारले छानविन गरोस् भन्ने हाम्रो माग हो । तर, सरकार सुशासन दिन होइन, आज ३ सय भन्दा बढीलाई किर्तेमा मुद्दा दर्ता गरेर सबैलाई एकैपटक मुक्ति दिने खेल खेल्दै छ । यस्तो नहोस् ।’ 

उनले सर्वसाधारण जनतालाई दुख दिने काममा मात्रै सरकारको सक्रिय देखिएको बताए । ‘विदेशबाट पढेर देशको सेवा गर्छु भनेर आएको एउटा डाक्टरलाई नक्कली भनेर झुठो आरोपमा पक्राउ गरियो र सार्वजनिक बेइज्जती गरियो । सक्कली डाक्टर पक्राउ पर्नु  भत्सर्नायोग्य छ । यी डाक्टरले कसरी क्षतिपुर्ति पाउँछु भनेर रुनु भएको छ,’ गिरीले भने,‘डाक्टरमाथि यति ठूलो अपमान हुँदा प्रधानमन्त्रीले माफी माग्नु होला भन्ने लागेको थियो । तर जे गर्छौ , सही गर्छौ । कसैले आवाज उठाउन मिल्दैन  भन्ने कोणबाट प्रस्तुत हुनु भएको छ । यो धेरै ठूलो चुनौतीको विषय भएको छ । देशमा डाक्टरको यस्तो हालत छ भने सर्वसाधारणको हालत के होला ?’

यसअघि नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरणमा डा. रञ्जितकुमार यादवलाई सिआईबीको टोलीले पक्राउ गरेको थियो । तर, डा. यादव सक्कली चिकित्सक रहेको प्रमाणित भएपछि उनलाई छोडिएको थियो । मेडिकल काउन्सिलले पनि सक्कली चिकित्सक पक्राउ परेको घटनामा ध्यानाकर्षण भएको जनाएको थियो । प्रहरीले एउटै नाम गरेका दुई डाक्टर रहेकाले त्रुटी हुन पुगेको प्रतिक्रिया दिएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्