प्रतिनिधिसभाको उद्योग वाणिज्य समितिमा जनमतका अब्दूल खान निर्विरोध 

सोमबार, भदौ ११, २०८०

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट भएको थियो ।

त्यसकारण प्रतिनिधिसभाका अन्य ९ वटा समितिमा एकल उम्मेदवारको मनोनयन दर्ता भएको थियो । 

कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा निर्विरोध भए । 

त्यस्तै नेकपा (एमाले)बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साह निर्विरोध भए । 

जनता समाजवादी पार्टीबाट राजकिशोर साहले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, कानून, न्याय तथा मानवअधिकार समितिमा  माओवादी केन्द्रकी विमला सुवेदी निर्विरोध निर्वाचित भए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डामा पूर्वाधार विकास समिति पाएको छ। उक्त समितिमा राप्रपाबाट दीपक सिंह निर्विरोध सभापति बने । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्