संसद्को कृषि समितिमा आरजु राणाको उम्मेदवारी

आइतबार, भदौ १०, २०८०

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद् आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा  उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व दलीय भागबण्डाका आधारमा टुंग्याइएको थियो ।

जसअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

माओवादीले आफ्नो भागमा परेका दुईमध्ये एक पद राप्रपालाई दिएको छ । पूर्वाधार विकास समितिको नेतृत्व राप्रपाका दीपक सिंहले गर्दैछन् भने कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादीकी  विमला सुवेदी उम्मेदवार छिन्  । 

कांग्रेसले पाएका ४ वटा समितिमध्ये आइतबार दिउँसो २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् । संसदीय सुनुवाइ समिति र अर्थ समितिमा कांग्रेसले अहिलेसम्म उम्मेदवारी दिएको छैन ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्