संसद् बैठक

संसद् खुल्दैमा बधाई दिनुपर्दैन,  भ्रष्टाचारीहरु यहीँ छन् : चित्रबहादुर केसी

बुधबार, भदौ ६, २०८०

काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् खुल्दैमा कसैलाई बधाई दिन आवश्यक नरहेको बताएका छन् ।

‘यहाँ संसद् खुलेकाेमा बधाई दिएको पनि देखियो । यो कसले बन्द गर्न लगायो, किन बन्द भयो, यसको गम्भिर छानविन गर्नुपर्छ । बधाई दिएर हुँदैन,’ प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भने,‘ ‘ललित निवासको जग्गा बिक्री गर्ने, नेपालीलाई नक्कली भूटानी बनाएर बेच्ने, नेपालको भन्सारलाई भ्रष्टाचारको केन्द्र बनाउनेहरु । हामी यहीँ संसद्मा बस्नेहरु, सत्ता चलाउनेहरु सम्बन्धित छैनौं र ?’

लामो समय संसद् अवरुद्ध हुँदा जनताका समस्याबारे छलफल हुन नसकेको उनले बताए । ‘१० रुपैयाँ पर्ने टमाटरको भाउ १ सय २५ पुगेको छ । बाढी पहिरोको कारण जनता पीडित छन् । यसबारे यो संसद्मा छलफल हुनुपर्ने होइन ?’

उनले थपे,‘ एकचोटी वर्तमान प्रधानमन्त्रीलाई ९९ प्रतिशतले समर्थन दिएको देख्दा म छक परेँ, मैले समर्थन दिएको थिइँन । त्यो समर्थनका पछाडि के थियो । पछि बजेट पास गर्ने बेला झन्डै सरकार गइसकेको थियो,’ उनले भने । 

उनले त्रिशुलिमा बस खस्दा दुर्घटनामा परेकाहरुको विषयमा सरकार गम्भिर हुनुपर्ने पनि बताए । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्