एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो : अर्थमन्त्री डा महत

बिहीबार, साउन ३२, २०८०

महेन्द्रनगर - अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन् । 

आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत हुन नसक्ने धारणा राखे । 

नेपाली कांग्रेसका प्रवक्ता डा महतले प्रतिपक्ष दलले सरकारलाई बाटो देखाउन र सिर्जनात्मक कामका लागि विरोध गर्ने अधिकार राख्ने भए पनि नेपाली जनताको आवाज प्रतिनिधित्व गर्ने थलो संसद्लाई गतिहीन बनाउने अधिकार कसैलाई नभएको जिकिर गरे ।

मन्त्री डा महतले संसद्मा गतिरोध उत्पन्न गरिएका कारण संसद्मा लैजानका लागि तयार गरिएका विभिन्न विधेयकलाई पनि संसद्मा लैजान नसकिएको र कैयौँ महत्वपूर्ण विषयवस्तु र कानुन निर्माणका विषयमा छलफल गर्न नसकिएको बताए । 

मन्त्री महतले आर्थिक स्रोत पर्याप्तमात्रामा उपलब्ध हुन नसकेको र मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण मधेससहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्तमात्रामा बजेट विनियोजन गर्न नसकिएको जानकारी गराएका हुन् । 

उनले भने, “आर्थिक स्रोतको पर्याप्तताको अभावमा यसपाली सबैका लागि चित्तबुझ्दो बजेट ल्याउन सकिएन, यसलाई कुनै क्षेत्र या भूगोलका मानिसले विभेदका रुपमा लिनु हुँदैन, यो मेरो आग्रह पनि हो । कांग्रेस प्रवक्ता डा महत नेपाली कांग्रेस सिरहाको सम्मेलनमा सहभागी हुन बिहीबार यहाँ आएका हुन् । 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार