ललिता निवास प्रकरण

ललिता निवास प्रकरणका कारण विदेश भगाइएकोे भन्ने आरोप लागेका माधव नेपाल फर्किए

शनिबार, साउन २७, २०८०

काठमाडौंबालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा नीतिगत निर्णय गर्नेलाई पनि छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि युरोप भागेको भन्ने आरोप लगाइएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्किएका छन्।

उनी स्पेनबाट टर्किस एयरको टिकट रद्द गरी कतार एयरमार्फत भ्रमण छोट्याएर नेपाल फर्किन लागेको प्रवासी नेपाली एकता मञ्चका प्रचार विभाग प्रमुख शेरबहादुर परियारले बताएको विवरणमा उल्लेख छ।

शुक्रबार मात्र सदनमा सरकारलाई आरोप लगाउँदै नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले निर्दोषलाई फँसाउने र सरकारसम्बद्ध आरोप लागेका माधवकुमार नेपाललाई भगाएको बताएकी थिइन्। 

एकीकृत समाजवादीका अध्यक्ष  नेपाल अगष्ट १५ अर्थात् २०८० साउन ३० गते  युकेमा रहेका नेपाली समुदायको साधरण सभालाई सम्बोधन गर्न युरोप गएका थिए। उनी सबै कार्यक्रम स्थगन गरेर फर्किन लागेका हुन्।

उनलाई भागेको आरोप लागेपछि स्विटजरल्यान्डबाट नै भिडिओ सन्देशमार्फत ललिता निवास प्रकरणबारे बोलेका थिए।

अध्यक्ष नेपाल फर्किनुको कारण यति मात्र नभएर नेकपा एकीकृत समाजवादीभित्र भएको विवाद समेत रहेको बताइन्छ। भटाभट नेताहरु एमालेतिर छिर्न थालेपछि एकीकृत समाजवादीभित्र चर्को मतभेद सुरु भएको थियो भने स्थायी समितिको बैठकमा भनाभन समेत भएको थियो।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्