सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारवाही : प्रवक्ता सापकोटा

बुधबार, साउन २४, २०८०

काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारवाही हुने स्पष्ट पारेका छन् ।

पार्टी प्रचार प्रसार विभागको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुराउनका लागि प्रधानमन्त्री प्रतिवद्ध रहेको भन्दै तथ्य र प्रमाणले पुष्टि भएको पार्टीकै नेतामाथि छानविन र कारवाही हुने स्पष्ट पारेका हुन् ।

निर्दोष नफस्ने र दोषी कोहि पनि नउम्कने गरि ठिक ढंगले अनुसन्धान गर्नका लागि सरकारले सुन तस्करी प्रकरणको छानविनको जिम्मेवारी सिआइवीलाई दिइएको उनले बताए । सापकोटाले सुन प्रकरण, ललिता निवास प्रकरण लगाएतको अनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने धारणा राखे । केन्द्रीय समिति बैठकमा सवै सदस्यहरुले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता जनाएको उनको भनाइ छ । त्यस्तै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाको गतिविधि केहि सुस्त भएपनि मोर्चाको लक्ष्यका साथ अघि बढ्ने दावी गरे ।

उनले लगातार सदन अवरुद्ध हुदा स्तर खस्किदै गएपनि यसलाई सहज रुपमा अघि बढाउनका लागि सत्तापक्ष प्रतिवद्ध रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्