सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति जुट्न नसक्दा संसद स्थगित

सुन तस्करी प्रकरणमा छानविन प्रभाविन हुने देखिएकाले उच्चस्तरीय छानबिन समिति गठनको आवश्यकता नरहेको सत्तापक्षकाे जिकिर
सोमबार, साउन २२, २०८०

काठमाडौँ– प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । 

सोमबार बस्ने भनिएको बैठक संसद सचिवालयले सूचना टाँस गरेर मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेका सांसदहरूले विरोध जनाएपछि संसद्‍ अवरुद्ध हुँदै आएको छ । सदनको अवरोध खोल्ने बिषयमा शीर्ष दलहरुबीच सोमबार भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि सदन चल्न नसकेको हो । 

मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बस्ने गरी शीर्ष नेताहरुको बैठक बस्ने तय भएको एमाले सचेतक महेश वर्तौलाले जानकारी दिए । उनले सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने बिषयमा प्रधानमन्त्रीले समय मागेका कारण बैठक स्थगीत भएको बताए । सचेतक वर्तौलाले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्नकै लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्नेमा एमालेको जोड रहेको जिकिर गरे । उनले सदनमा गृहमन्त्री अर्थमन्त्रीले जवाफ दिनका लागि एमाले सदनमा विरोध नगर्ने बताए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले दलहरुबीचको छलफल सकारात्मक रुपमा अघि बढेको बताए । उनले सरकारको निकायले अनुसन्धान गर्दा अर्को समिति गठन गर्दा छानविन प्रभाविन हुने देखिएकाले उच्चस्तरीय छानबिन समिति गठनको आवश्यकता नरहेको जिकिर गरे । सरकारको छानविनमा शंका उपशंका गर्न आवश्यक नरहेको उनको भनाइ छ । 

त्यस्तै, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्तापक्ष र प्रतिपक्षीको लडाईका कारण सदनलाई लामोसमयसम्म बन्दी बनाउन नहुने भन्दै छिटै सहमतिमा पुग्नुपर्ने बताउनुभयो । उहाले सदन जनताको भएपनि लामो समय अवरुद्ध हुदा जनताको मुद्दा उठाउन नसकिएको जिकिर गरे । 

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने बिषयमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति जुट्न नसक्दा संसद प्रभावित भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्