प्रद्युम्नले पक्रिएका ल्यारक्याललाई लुम्बिनी विकास कोष सुम्पिएपछि प्रचण्डको ‘धोती खुस्कियो’

सोमबार, साउन २२, २०८०

काठमाडौं७ बर्ष अघि जिल्ला प्रहरी परिसरका तत्कालिन उपरिक्षक (एसपी) प्रद्युम्न कार्कीको टोलीले हातहतियार राखेको अभियोगमा पक्राउ गरेका ल्यारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तिव्र आलोचना भएको छ।

ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणको छानबिनका कारण चर्चामा रहेका प्रधानमन्त्री प्रचण्डको यो निर्णयले उनको धोती खुस्किएको टिप्पणी हुन थालेको हो। लामा अहिलेसम्म विवादहिन रहन सकेका छैनन्। उनको विभिन्न आपराधिक मनसाय भएका प्रकरणमा नाम मुछिने गरेको थियो।

तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिपरिषदमा राज्यमन्त्री नियुक्ति हुँदा नै लामा विवादमा तानिएका थिए। त्यसपछि एमाले छाडेका उनी माओवादीमा गए। बौद्ध धर्मको सिम्रिक रङ्गको पहिरनमा सजिएर हिँड्ने लामाका अनेक विवाद छन्।

बैंकको लकरमा बन्दुक राखेको अभियुक्त बनेका उनी शक्ति केन्द्रको आडमा हिरासत बस्नु परेन भने अहिले प्रचण्डले उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएर पुरस्कार दिए। यो निर्णयले प्रचण्ड सर्वाधिक आलोचित छन्।

 काठमाडौंको बुढानिलकण्ठस्थित उनको घरमा तत्कालिन एसपी कार्कीको टोलीले छापा मारेको थियो। अख्तियारको अनुसन्धानका क्रममा बैंकको लकरबाट गोली बरामद भएपछि आइतबार उनलाई पक्राउ गरिएको हो।

लामालाई टेकुस्थित परिसरमा पनि राखिएको थियो।

माओवादीको सिफारिसमा निर्वाचन आयोगले लामालाई सभासद नियुक्त गरेको थियो। शम्भु पासवान हजारीको सभासद पद सर्वोच्च अदालतले खारेज गरेपछि माओवादीले लामालाई सिफारिस गरेको थियो। सँधै प्रचण्डबाट पुरस्कृत भएका उनलाई अब लुम्बिनी विकास कोषको जिम्मेवारी दिनुलाई चोरको हातमा चाबी दिएको बताइन्छ।

विवादास्पद छवी भएका लामालाई सभासद बनाउँदा नै माओवादीभित्र समेत तिव्र असन्तुष्ट देखिएको थियो। अहिले पनि उनको नियुक्तिले माओवादीका नेता कार्यकर्ता सन्तुष्ट छैनन्।

तीन वटा देशको पासपोर्ट, अवैध हतियार, मानव तस्करी, ठगीलगायतका अभियोगमा बारम्बार पक्राउ परेका लामालाई सरकारले यही साउन १६ गतेको मन्त्रिपरिषद वैठकबाट कोषको उपाध्यक्ष नियुक्त गरेको खुलासा भएको थियो।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्