सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारले पायो पूर्णता : मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन

बुधबार, साउन १७, २०८०

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा आज साँझ मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन गरेका छन् । 

बैतडी जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित शिवराज भट्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा र कैलाली जिल्लाको प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित रामेश्वर चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त भएका छन् । 

यसैगरी कैलालीको प्रदेशसभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्ति भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराए ।  

सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनीयताको शपथ गराए । गत माघ २७ गते गठन भएको सुदूरपश्चिम प्रदेशको मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम देहायअनुसार नियुक्ति र कार्यविभाजन गरिएको छ ।

१) कमलबहादुर शाह– मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ।

२) प्रकाशबहादुर देउवा– मन्त्री, भौतिक पूर्वाधार विकास ।

३) नरेशकुमार शाही– मन्त्री, आर्थिक मामिला ।

४) शिवराज भट्ट– मन्त्री, आन्तरिक मामिला तथा कानून ।

५) झपटबहादुर साउद– मन्त्री, सामाजिक विकास ।

६) रमेशसिंह धामी– मन्त्री,उद्योग पर्यटन, वन तथा वातावरण ।

७) रामेश्वर चौधरी– मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी ।

८) गीतादेवी माल– राज्यमन्त्री,उद्योग, पर्यटन, वन तथा वातावरण ।

९) कैलाश चौधरी– राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी । 

मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहले यसअघि गत माघ २७ गते कांग्रेससहितका सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् गठन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्