राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य : सभापति देउवा

सोमबार, साउन १५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका छन् ।

कांग्रेसको क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–१ नुवाकोटले सोमबार काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा देउवाले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताएका हुन् ।

उनले मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने धारणा राखे । सबैको सहमतिमा  बनेको संविधानलाई स्थायी रुप दिन यसमा भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए । कांग्रेस काम गर्ने पार्टी भएपनि प्रचारको अभावमा कांग्रेसले गरेका कामलाई जनमानसमा पुराउन नसकिएको उनले बताए । 

उनले सामाजिक सञ्जालमा एकअर्कालाई होच्चाउने काम बन्द गर्न आग्रह समेत गरे ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्