नेकपा एसको केन्द्रीय, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित

शनिबार, साउन १३, २०८०

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक स्थगित भएको जनाएको छ ।

उक्त बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि ती बैठक स्थगित गरिएको सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्ने छ । यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरिएको थियो ।

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि

समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा भोलि आइतबार दिउँसो १२ः०० बजे हुने भएको छ । 

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले  जानकारी दिए । 

उनका अनुसार उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् । –रासस 

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्