बिपी स्मृति दिवस

काँग्रेसले ०८४ को होइन अहिलेको चिन्ता लिनुपर्छ : विश्वप्रकाश शर्मा

शनिबार, साउन ६, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले ०८४ को चुनावका लागि नभई अह‍िलेका लागि चिन्ता गर्नुपर्ने बताएका छन्।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा महामन्त्री शर्माले  चार वटा प्रदेश सरकार र ३२९ स्थानीय तहको नेतृत्व गरेको पार्टीले ०८४ मा हुने चुनावको चिन्ता छोडेर देश र जनताको लागि काम गर्नुपर्ने बताएका हुन् । 

सङ्गठनलाई मजबुत बनाउँदै  प्रदेश र स्थानीय तहमा  रहेका काँग्रेस नेतृत्वको सरकारले राम्रो काम गरे आगामी चुनावको चिन्तै लिन नपर्ने उनको भनाइ छ।

‘२०८४ सालको निर्वाचनको चिन्ता गर्ने होइन, अहिलेको चिन्ता गर्ने हो, राम्रो काम गर्ने हो, सङ्गठनलाई बलियो बनाउने हो”, महामन्त्री शर्माले भने।

उनले विपीको विचार र चिन्तनलाई समावेश गरेर काँग्रेसको केन्द्रीय समिति बैठक अगाडि बढ्ने बताए। उनले विपी दूरदर्शी र परिपक्व नेता रहेको र उनको विचारलाई काँग्रेसले नछोड्ने बताए।

नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको उनको गुनासो थियो। त्यसकारण झापा आन्दोलन र माओवादी आन्दोलन भएको र त्यसबाट देशले ठूलो क्षति ब्यहोर्न परेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्