बागमती प्रदेश

साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको छ : कानुनमन्त्री श्रेष्ठ

बुधबार, साउन ३, २०८०

पाटन– बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको बताएका छन् ।

सञ्चार रजिष्ट्रारको कार्यालयले आज ललितपुरमा आयोजना गरेको साइबर सुरक्षा अवधारणा र अभ्यास पुस्तक विमोचन समारोहमा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षाका लागि दक्ष जनशक्ति र रणनीति बनाउनु आवश्यक रहेको बताए ।

उनले भने, “बागमती प्रदेशमा सूचना प्रविधि तथा साइबर सुरक्षासँग सम्बन्धित विषयका कानुन निर्माण गरी कार्यान्वयनमा लगिनेछ, अहिले साइबर सुरक्षाका लागि प्रदेशले नीति बनाइरहेको छ । सङ्घीय साइबर सुरक्षा नीति आएसँगै प्रदेशमा पनि साइबर सुरक्षासँग सम्बन्धित विषयमा सरोकारवाला निकायसँग छलफल गरेर परिमार्जन गरी कार्यान्वयन गर्न सकिने कानुन निर्माण गर्नेछौँ ।”

प्रदेशमा निर्माण भएका अव्यवहारिक कानुन संशोधनको क्रममा रहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले अगाडि भने, “सूचना प्रविधिको विकास र यसले निम्त्याएको चुनौतीको सामना गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारले एक्लै गर्न सक्दैन, सबै मिलेर साझा नीति तथा रणनीति बनाएर सामना गर्नुपर्ने हुन्छ, त्यो दिशामा प्रदेश सरकार प्रतिबद्ध भएर अगाडि बढिरहेको छ ।” 

त्यस्तै पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले प्रदेशमा निर्माण भएका धेरै कानुन सङ्घीय सरकारले निर्माण गरेकाभन्दा पनि पश्चगामी भएको भन्दै संशोधन गरेर नागरिकमैत्री र कार्यान्वयनमा आउन सक्ने बनाउन आग्रह गरे ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले यस वर्ष साइबर सुरक्षाका साथसाथै जिल्ला तहका समाचारदातालाई लक्षित गरेर विधागत पत्रकारिताका लागि सहयोगी हुने गरी पुस्तक प्रकाशन गर्ने बताए । उनले ज्येष्ठ पत्रकारको अनुभवलाई पनि पुस्तकमा समेटेर प्रकाशन गर्ने तयारी सञ्चार रजिष्ट्रारको कार्यालयले गरिरहेको बताए । –रासस

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्