‘भावनात्मक अभिव्यक्ति दिएको प्रधानमन्त्रीको जवाफपछि सदन अघि बढाउन एमाले सहमत’

सोमबार, असार २५, २०८०

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावनात्मक अभिव्यक्ति दिएको जवाफ दिएपछि सदनलाई अघि बढाउन एमाले सहमत भएको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले प्रधानमन्त्रीले नै बोल्ने बेला त्रुटी गरेको र भविष्यमा यस्तो त्रुटी नगर्ने प्रतिवद्धता आएपछि सदनलाई अघि बढाउन एमाले सहमत भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण राष्ट्रिय स्वाभिमानमाथि गम्भीर आघात भएको र जनताको मन दुखेकोमा प्रधानमन्त्रीको जवाफ गहिराईबाट भने आउन नसकेको बताए । समग्रमा प्रधानमन्त्री अभिव्यक्तिलाई सकारात्मक रुपमा लिएको उनको भनाइ छ ।  

त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका बिषयमा बिभिन्न बिषयबस्तु उठेपनि प्रधानमन्त्री देशलाई कसरी अघि बढाउने भन्ने दृढ इच्छाशक्तिका साथ अघि बढेको बताए । उनले सवै बिषयलाई प्रधानमन्त्रीले ठिक ढंगले अघि बढाउने विश्वास व्यक्त गरे ।

त्यस्तै, कांग्रेस नेता प्रदीप पौडेलले प्रचारका लागि आफ्नो उपस्थीति देखाउन एमालेले लगातार सदन अवरुद्ध गरेको आरोप लगाए । उनले सभामुखले पनि संसदीय प्रक्रियालाइ अघि बढाउने भन्दा पनि कुनै दलले अवरोध गर्ने बितिकै सदन स्थगन गर्ने गलत अभ्यास गरेको बताए ।

उनले प्रधानमन्त्रीका बिषयमा एमालेले उठाएको प्रश्नको औचित्य पुष्टि हुन नसकेको धारणा राखे ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्