मधेसको इतिहास लेखन प्रारम्भ

शनिबार, असार २३, २०८०

महोत्तरी– मधेस प्रज्ञा प्रतिष्ठानले मधेसको इतिहास लेखन प्रारम्भ भएको जनाएको छ ।

मधेसको इतिहास लेखनसम्बन्धी बर्दिबास–४ माईस्थानमा आज सम्पन्न दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘भ्रमर’ ले इतिहास लेखनको कार्य गोष्ठीसँगै प्रारम्भ भएको घोषणा गरेका हुन् ।

“मधेस र मधेससँगै जोडिएको भारतका विभिन्न जिल्लाबाट आएका भाषाविज्ञ तथा इतिहास खोजकर्ताबाट प्राप्त सुझाव नै लेखनका आधार हुन्”, समापन कार्यक्रममा अध्यक्ष ‘भ्रमर’ले भने, “प्राप्त तथ्याङ्क र आधार समाएर इतिहास लेखिने हुँदा त्यसको सुरुआत यहीँबाट भएको छ ।”

यो कार्यले तीन वर्षभित्र निश्चित आकार लिइसक्ने उनले बताए ।

मुलुकका पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको तराई क्षेत्रका विभिन्न भाषाका विज्ञ, अन्वेषक र इतिहासका खोजकर्ताको सहभागितामा सम्पन्न गोष्ठीले मधेस प्रदेशका आठ जिल्लामात्र समेटिए पनि इतिहास लेखनमा सम्पूर्ण तराई ल्याइने निर्णय गरेको प्रतिष्ठानका सदस्य दिनेश यादवले बताए ।

अब लेखिने मधेसको इतिहासमा प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहटका भाषा, संस्कृति, परम्परा र विभिन्न जातजातिको विकासक्रम उल्लेख गरिने प्रतिष्ठानको अठोट छ ।

नेपालका प्राचीन कोचिला, मिथिला, भोजपुरा, मगध, अवध र थरूहट क्षेत्रसँग अहिलेको भारतका सीमा क्षेत्रका भाषा, संस्कृति, वेशभूषा, परम्परा र अन्य रीतिथिति पनि मेल खाने हुँदा भारतीय विद्वानहरूको समेत गोष्ठीमा सहभागिता गराइएको अध्यक्ष ‘भ्रमर’ ले स्पष्ट पारे ।

शुक्रबार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरी सुरु भएको गोष्ठीमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मधेसको भाषा/साहित्य र राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने कार्यपत्र प्रस्तुत गरे । 

त्यसैगरी पश्चिम नेपालका राना थारूको र दाङ क्षेत्रका डगौरा थारूको भाषा÷साहित्य र संस्कृतिबारे डा जीवन राना र कृष्ण सर्वहारीले कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै भारतीय प्राज्ञ अयोध्यानाथ झा र डा पिताम्बर यादवले मैथिली, भाषाविज्ञ गोपाल अश्कले भोजपुरी र विक्रममणि त्रिपाठीले अवधी भाषा/साहित्यको विकासक्रमबारे धारणा राखे ।

सम्पन्न गोष्ठीमा मधेसको इतिहास–गण्डकी पश्चिम कञ्चनपुरसम्म, मधेसको इतिहास–गण्डकी पूर्व कोशी पश्चिमसम्म, मधेसको इतिहास–पूर्व मेची–कोशीसम्म, मधेस प्रदेशको साहित्य संस्कृति र मधेस प्रदेशको भाषा÷कलासम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको प्रतिष्ठानका सदस्यसचिव रामहृदय यादवले जानकारी दिए । –रासस

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्