फष्टाउँदै छ टीकापुरमा केरा खेती 

शनिबार, असार २३, २०८०

भजनी– कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । 

    टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन् । यहाँ केराका लागि सुहाउँदो माटो भएका कारण हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केरा खेती गर्दैआएका छन् । हमाल भन्छन्, “त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिए । अहिले धेरै किसान यसमा लागेका छन् ।” 

    हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोडे । केराको मात्रै परिकार पाइने बनानाज रिसोर्ट निकै चर्चित छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ । उहाँ उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेका छन् । 

    टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढीमा केरा खेती हुँदै आएको तथ्याङ्क छ । बर्सेनी केरा खेती विस्तार हुँदै गएको केरा व्यवसायी टेकेन्द्र धामी बताउँछन् । “किसान केरा खेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या छैन, एकपटक खेती गर्दा तीन पटकसम्म आम्दानी लिन सकिन्छ”, उनी भन्छन्, “टीकापुरमै सहजै केराको बेर्ना उपलब्ध हुन्छ ।”

    धामीले केराको बेर्ना टीकापुरमै उपलब्ध गराउँदै आएका छन् । उनले सात वर्षदेखि टिष्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्री गर्दै आएका हुन् । केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर किसानलाई बिक्री गर्छन् । गत वर्ष करिब दुई लाख केराको बिरुवा बिक्री गरेको उनले बताए । 

    केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ । व्यवसायी राजकुमार चौधरी व्यापारी बारीमै आएर केरा खरिद गर्ने गरेका बताउँछन् ।

    केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरु ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले रु ६० लाख विनियोजन गरेको बताए । कार्यान्वयन इकाइले टीकापुरमा विषादीरहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ ।  च्याम्बर पूर्णरुपमा सञ्चालनमा भने आउन सकेको छैन ।     
 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार
केरा खेतीबाट मनग्य आम्दानी
शनिबार, असार २३, २०८०