अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गियो

बिहीबार, असार २१, २०८०

काठमाडौँ– ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गिएको छ । 

आज ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको र आजैदेखि सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी सूचनामा जनाइएको छ ।

अदालतका कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई अभद्र व्यवहार कसुरमा नियन्त्रणमा लिइएको थियो । ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले आवश्यक प्रक्रिया पुर्याएर लामिछानेलाई छाडिसकिएको बताए । 

उक्त घटनाको विरोधमा वकिल तथा कर्मचारी आन्दोलित भएका थिए । उनीहरूबीच आज भएको सहमतिपत्रमा अदालतमा सेवा लिने–दिने क्रममा हुन गएको घटनाका बारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिमार्फत विषयान्तर भएको महसुस भएकाले सो घटनाका विषयलाई लिएर द्वेषभाव नराखी विवादलाई अन्त्य गरी आ–आफ्नो सेवामा खटिने उल्लेख छ । 

सहमतिपत्रमा ललितपुर जिल्ला अदालतको सिसीटिभी अविलम्ब मर्मतका लागि अनुरोध गर्ने, नेपाल बार एशोसिएसन र निजामती कर्मचारीबाट घोषित विरोधका कार्यक्रम आजैदेखि स्थगन गरी सेवा सञ्चालन गर्ने पनि सहमति बनेको छ ।
 
यस्तै सहमतिपत्रमा ललितपुर जिल्ला अदालत र बार एशोसिएसनबीचको सम्बन्धलाई सुमधुर कायम राखी निरन्तरता दिँदै यो बीचमा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षममायाचना पनि गरिएको छ । घटना यही असार १३ गते भएको थियो ।

wakil_karmachari1688658522.jpg

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्